काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भारतीय मन्त्रिपरिषदले नेपालको विद्युत खरिद गर्न गरेको प्रस्ताव स्वीकृतिको निर्णय स्वागत योग्य भएको जनाएको छ।
इप्पानका बरिष्ठ उपाध्यक्ष मोहन डाँगीले भारतको निर्णय स्वागतयोग्य भएको बताएका हुन्।
उनले भने, ‘भारतले गरेको निर्णय स्वागत योग्य छ । नेपालको बर्खाको विद्युत खेर गइरहेकाले तत्कालै यो निर्णय कार्यान्वयनमा लैजान सकेमा हाम्रो जलविद्युत उत्पादन पनि बढाउँदै लैजान प्रोत्साहन मिलेको छ।’
उनले भारतले उसको लगानी भएका आयोजनाको मात्रै विद्युत लैजाने भन्ने आशंका रहेकाले त्यसलाई चिर्ने गरी नेपाली लगानीका आयोजनाको विद्युत खरिद गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने सुझाव समेत दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा आफ्नो सम्बोधनमा गरेका थिए। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा घोषणा कार्यान्वयन गर्न १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव त्यहाँको मन्त्रीपरिषदले स्वीकृत गरेको छ।