तस्बिर: गाेरखापत्रबाट
ताप्लेजुङ। पानीको समस्या रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको बिपुधाप टोलका बासिन्दालाई पाइप वितरण गरिएको छ। बिपुधाप टोलमा खानेपानी व्यवस्थाका लागि गाउँपालिकाले खानेपानीको पाइप वितरण गरेको हो।
यस वर्षको वर्षातको समयमा बाढी र पहिरोले मुहान तथा धारामा क्षति गरेपछि बिपुधापमा खानेपानीको समस्या रहँदै आएको छ। करिब दुई दर्जन परिवारको बसोबास रहेको सो टोलमा तत्कालका लागि खानेपानी समस्या समाधान गर्न पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
अध्यक्ष लिम्बूका अनुसार करिब तीन हजार मिटर अर्थात् १२ कुवेल खानेपानीको पाइप वितरण गरिएको छ । गाउँपालिकाले पाइप उपलब्ध गराएपछि खानेपानीको समस्या समाधान हुनेमा बिपुधापवासी विश्वस्त छन् । गएको असार र साउन महिनामा वर्षासँगै विभिन्न समयमा गएको बाढीपहिरोले खानेपानीमा क्षति गरेका कारण स्थानीयले पानीको समस्या खेप्दै आएका छन् । स्रोत गोरखापत्र