काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन्।
मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागि समेत सहज रहेको उल्लेख गर्दै उनले थप केही महत्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न आग्रह गरे।
नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताए । माथिल्लो त्रिशुली एक जलविद्युत् आयोजनालाई सहज रुपमा अगाडि बढाउन सरकारकोतर्फबाट पूर्ण सहयोग रहने र समयसीमा भित्रै सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गरे ।
सो आयोजना दुई देशबीचको मैत्री सम्बन्धलाई थप विस्तार गर्ने एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले थप ठूला आयोजनामा लगानी गर्न कोरियाली लगानीकर्तालाई अनुरोध गरे । सरकारले वैदेशिक लगानीको सहजीकरणका लागि कानुनी, नीतिगत तथा संरचनागत सुधार गरेको जानकारी दिँदै उनले निर्माणाधिन माथिल्लो त्रिशुली एक आयोजना जस्तै अन्य ठूला र महत्वपूर्ण आयोजनामा लगानी गर्न विशेष अनुरोध गरे ।