पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित खजुरा खोलामा पुल निर्माणका लागि सम्झौता भएको समय सकिँदा समेत काम सुरु भएको छैन। गत असारमै सम्पन्न हुनपर्ने बर्दघाट ५ र १६ जोड्ने पुलको काम तीन वर्षसम्म सुरु नै हुन नसकेको हो।
२०८० साल असारमा सम्पन्न गर्नेगरी २०७७ साल पुसमा श्री मृत सञ्जीवनी निर्माण सेवा प्रालि कलंकी काठमाडौंसँग कुल ९ करोड ७७ लाखमा सम्झौता भएको पुल निर्माणको काम अलपत्र परेको हो।
लामो समयदेखि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा नआउने र काम पनि अगाडि नबढेपछि निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउन प्रशासनलाई आग्रह गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ। पटक–पटक नगरपालिकाले सम्पर्क गर्न खोज्दा निर्माण व्यवसायी सम्पर्कमा नआएको र काम पनि रोकिएका कारण छलफलका लागि प्रशासनमा आग्रह गरिएको हो।
नगरपालिकाले पत्र काटेर ठेकेदार सम्पर्कमा ल्याएर सहजीकरण गर्दिन अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार र सम्बन्धित व्यक्तिहरूलाई असोज १० गते कार्यालयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।