सङ्खुवासभा। सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम तीन सातादेखि रोकिएको छ। स्थानीयले अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै करिब तीन सातादेखि परियोजनाको काम ठप्प पारेका हुन्।
स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत्गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिले सरकारले माग सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिनुपरेको जनाएको छ। स्थानीयले प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दै आएका छन् ।
छ्याङकुटीबाट पुखुवासम्म चार सय ५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी छ । मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितको भनाइ छ । उनीहरू मुआब्जा माग गर्दै विगत सात वर्षदेखि आन्दोलित छन् । अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पिडिए)मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक रु आठ करोड नेपाल सरकारले क्षतिपूर्ति बेहोर्नुपर्ने सर्त उल्लेख छ ।