काठमाडौं। राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन सम्पन्न भएका जलविद्युत् आयोजनामा लगानीको समस्या नहुने बताएका छन्।
सोमबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले जलविद्युत् आयोजनामा लगानीको समस्या नहुने बताएका हुन्।
उनले १० वर्षमा २० हजार मेगावाटका आयोजनामा लगानी सिर्जना गर्न सहज नै हुने बताए। भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले बैङ्कले विद्युत् आयोजनामा लगानी गर्न नसकेको भन्दै बैङ्क तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुेपर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसमक्ष आग्रह गरे।
जवाफमा अधिकारीले बैङ्कसँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताएका हुन्। जलविद्युत् आयोजनामा व्यापक लगानी गरी वार्षिक १२ र १३ खर्ब रुपियाँको विद्युत् निर्यात हुने र उक्त परिमाणको विद्युत् निर्यात गर्न विकास गर्नुपर्ने विद्युत् आयोजनाका लागि लगानीमा समस्या नहुने बताए।
इप्पानले भने तत्कालै करिब तीन हजार ७०० सय मेगावाट आरओआर (जलप्रवाही) र दुई हजार २०० मेगावाट पिआरओआर (अर्ध जलाशय) आयोजना विकास गर्न आगामी पाँच वर्षमा झन्डै पाँच खर्ब ५५ अर्ब लाग्ने भन्दै जलविद्युत्मा बैङ्कको लगानी थप प्रवाहित गर्नुपर्ने माग गरेको हो ।