काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको काम गरिरहेको निर्माण कम्पनीले काम रोक्ने चेतावनी दिएको छ। सडकको चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको हो।
निर्माण कम्पनीले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनासँग गत जेठमै १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको हो ।
कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले दसैँसम्ममा मागअनुसारको रकम भुक्तानी नभए साँगा–धुलिखेल सडकखण्डको काम रोक्ने बताए।
कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो। सडक विभागका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख छ । साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ।
भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट १५ करोड माग भएको तर भुक्तानी ढिला हुने भएको बताए। उनका अनुसार सूर्यविनायक–धुलिखेलसम्म पुल निर्माणसहित सडक विस्तारका लागि कुल नौ अर्ब लाग्ने र यसमध्ये जम्मा ५४ करोड मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ।