काठमाडौं। खेतीयोग्य भूमिको सिँचाई तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने गरी निर्माणाधीन सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको समग्र भौतिक प्रगति ३० प्रतिशत पुगेको छ।
हालसम्म आयोजनाको मुख्य सुरुङको मात्र भौतिक प्रगति भने ६६ प्रतिशत पूरा भइसकेको छ।
आयोजनाको १३.३ किलोमिटर लामो मुख्य सुरुङ एक वर्षअघि अटोमेटिक टनेल बोरिङ मेसिन (टिबीएम) बाट खन्न सुरु गरिएकोमा आधाभन्दा बढी सम्पन्न भएको हो ।
एक वर्षमा आधाभन्दा बढी सुरुङ खनेर सक्नु भनेको लक्ष्यअनुसारकै प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार बाँकी सुरुङ पूरा हुन अब बढीमा ९ महिना लाग्छ ।
सुनकोसी नदीमा पानीको बहाव कम भएपछि आयोजनाको बाँध क्षेत्रका संरचनाको काम सुरु गरिने छ।
आयोजनाको अन्य संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । खोलामा पानीको सतह कम हुन अझै २ महिना लाग्ने हुँदा अहिले ल्याव तथा क्रसर स्थापना र आवासगृह निर्माणको काम भइरहेको छ। यसैवर्षबाट मरिनतर्फको काम पनि सुरु गरिने आयोजनाको भनाइ छ।