काठमाडौं। रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, साँखे स्थित २२० केभी न्यु खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरेको हो।
थप गरिएको ट्रान्सफर्मरलाई मङ्गलबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई ३०० एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजना अन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो ।
१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।
तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्य रूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् पूर्ण रूपमा प्रवाह हुन सकिरहेको थिएन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी कोरिडोरमा सञ्चालित जलविद्युत् आयोजनाले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए। नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखु कोरिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् अल्पकालीन योजना अन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो ।