सुर्खेत। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिएको बताएका छन् । गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै खड्काले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताएका हुन् ।
यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्ने उनको प्रतिबद्धता छ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको दाबी गरे।
अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाइ छ। कर्णालीको जल, जडीबुटी र कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउन र यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने हिसाबले काम भइरहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचन अवधिमा फरक दल भए पनि कर्णालीको विकास र समृद्धिको पक्षमा सबै जनप्रतिनिधिको एकमत रहेको उनले जनाए।