सुर्खेत। गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गरिएको छ। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले बिहीबार उक्त आयोजनाको कार्यालय उद्घाटन गरेका हुन्।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका खड्काले उद्घाटनका क्रममा कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको भन्दै उनले यहाँका जनताको खुसी र समृद्धिका लागि सबैदल एक हुनुको विकल्प नभएको धारणा राखे ।
उनले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताए । उनले यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्ने दाबी समेत गरे।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आयोजनाको कार्यालय स्थापना हुनुमा कार्यवाहक प्रधानमन्त्रीको विशेष योगदान रहेको बताए । जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको विकासले कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताइन्।