म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिङगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडकको स्तरोन्नति सुरु भएको छ। बेनी–दरवाङ सडकखण्ड अन्तर्गत सिङगाको ठूलोखोलादेखि वडा नं ४ र ५ का ग्रामीण बस्ती जोड्ने सिङगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान पुग्ने सडकको स्तरोन्नति सुरु भएको हो।
ट्रयाक निर्माण भएको आठ वर्षपछि यो सडकको स्तरोन्नति गर्न थालिएको हो। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजना अन्तर्गत सडक स्तरोन्नति सुरु गरिएको छ। प्रदेश निर्वाचन क्षेत्र–१ का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतिमा छनोट भएको यस आयोजनाका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । गत असार २१ मा पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाईबेरकालीगण्डकी निर्माण जेभीले सडक मर्मत अघि बढाएको छ ।
वि. सं.२०७२ मा सडकको ट्र्याक निर्माणले पूर्णता भएको भए पनि यस वर्षदेखि आयोजनाकै रुपमा सडक स्तरोन्नति थालिएको छ। आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जनशक्ति, मेसिन, उपकरण र निर्माण सामग्रीको परिचालन गरिएको कम्पनीको भनाइ छ । अहिले सिस्नेरी– बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीमा सडक ढलानको काम भइरहेको छ । ठूलो खोला र अँधेरीखोला क्षेत्रमासमेत सडक ढलान गरिनेछ ।