काठमाडौं। विद्युत विकास विभागले कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले आयोजनाको प्रवर्द्धक जलदुल्ला हाइड्रोपावर कम्पनीको नाममा उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो ।
विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली,२०५० को नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी नियम १६ मा भएको व्यवस्था बमोजिम प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको विभागले जनाएको छ ।
विभागले सम्भाव्यता अध्ययन प्रतिवेदन तथा वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा उत्पादन अनुमतिपत्र दिनुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा अबको ३५ दिनभित्र प्राप्त हुने गरी लिखित रायसुझाव पेश गर्न सम्बन्धित सरोकारवालासमक्ष आग्रह गरेको छ ।
यो आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९पिपिए० मा हस्ताक्षर भइसकेको छ। अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा आवासगृह निर्माणको काम भइरहेको छ । आगामी वर्षदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरी २०८६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाले उत्पादन गर्ने विद्युत ४५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी बाफिकोट सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रणालीमा जोड्ने गरी विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ ।