काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले एमसिसी नेपाल र अमेरिकाको सम्बन्धलाई उचाइमा पुर्याउने परियोजना भएको दाबी गरेका छन्।
एमसिसी कम्प्याक्ट सम्झौताको शुभारम्भको अवसरमा नेपाल भ्रमणमा आएका एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा एमसिसी नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उचाइमा पुर्याउने परियोजनाका रुपमा आफूहरुले लिएको बताएका हुन्।
उनले एमसिए नेपालमार्फत कार्यान्वयनमा गएको प्रसारण लाइन र सडक सुधार आयोजना सहजरुपमा कार्यान्वयनको चरणमा प्रवेश गरेकामा प्रसन्नता व्यक्त गरे ।राष्ट्रिय गौरवको परियोजनाका रुपमा त्यसलाई समावेश गरेर महत्व दिएकामा प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेपाल सरकारलाई धन्यवाद समेत दिए ।
परियोजनालाई सहज रुपमा कार्यान्वयनमा लैजान नेपाल सरकारको तर्फबाट महत्वपूर्ण सहयोग रहनेमा आफू विश्वस्त रहेको उनले बताए ।
भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिस्टलगायतको उपस्थिति थियो ।