काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एमसिसी परियोजना कार्यान्वयनमा शंका गर्नु नपर्ने बताएका छन्।नेपाल भ्रमणमा रहेकी एमसिसी कार्यकारी निर्देशक एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले सार्वभौम संसद र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन्।
उनले भने, ‘नेपाल सरकार र सार्वभौम संसदले एमसिसी परियोजना पास गरिसकेको छ। परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन।’
परियोजनामा केही समस्या छन् तर ठिक समयमा शुरु गरेर ठिक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफै हल भएर जाने मन्त्री ज्वालाको दाबी छ ।
भेटमा एमसिसी कार्यकारी निर्देशक एलेक्स अलवाइडले एमसिसी परियोजना कार्यान्वयन भए आफु र आफ्नो देश पनि खुसी हुने बताइन्। उनले भनिन्, ‘एमसिसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु।’