जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–११ मा पर्ने सडक निर्माणका क्रममा दुई वटा कार्यालयबाट भुक्तानी लिने उपभोक्ता समितिले रकम फिर्ता गरेको छ। नलगाड नगरपालिका वडा नं ११ स्थित उखाले तल्लु सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको उपभोक्ता समितिले १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ फिर्ता गरेको हो।
एउटै योजनामा नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय ७ रुपैयाँ भुक्तानी दिइएको थियो ।
नलगाड नगरपालिकाको काम अघि नै गरिसकेको छानबिनबाट पुष्टि भएपछि पूर्वाधार विकास कार्यालयबाट डुप्लिकेशन भएको तथ्य पत्ता लागेको थियो । पूर्वाधार विकास कार्यालय जाजरकोटले बढी भुक्तानी लिएको ५ प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ उपभोक्ता समितिले मङ्गलवार पूर्वाधार कार्यालयको खातामा रकम जम्मा गरेको जनाएको छ।
अफिसलाई झुक्काएर डुप्लिकेशन गरी रकम भुक्तानी लिने उपभोक्तालाई बोलाएर रकम जम्मा गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिईसकेको रकम फिर्ता गर्न लगाएको कार्यालयले जनाएको छ।