काठमाडौं। अर्थमन्त्री डा. प्रकाश शरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले राम्रा सडक र भरपर्दो विद्युत् उपलब्ध गराइ नेपालीलाई लाभान्वित गर्ने बताएका छन्।
नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको विकासमा सघाउ पुर्याउने आयोजनाहरू सहितको एमसीसी नेपाल कम्प्याक्टले राम्रा सडक र थप भरपर्दो विद्युत् उपलब्ध गराएर नेपाली जनतालाई लाभान्वित गर्ने बताएका हुन् ।
अर्थमन्त्री महतले यो मात्र अमेरिकी सरकारको अनुदानमा आधारित नभएर, नेपाल सरकारको पनि लगानी भएकाले संयुक्त आयोजनाको परियोजना भएको प्रस्ट पारे । एमसीसीको कार्यान्वयन यात्रामा आएका अनेक अवरोधबारे चर्चा गर्दै अप्ठ्यारो स्थितिका बाबजुद पनि सफल कार्यान्वयनमा गएको उनले औँल्याए ।
उनले भने, “अनुमोदनकै क्रममा अनेक जिज्ञासा, शङ्का उपशङ्का उठेका थिए तर त्यो सबै निवारण गरेर ठोस रूपमा अघि बढेको छ ।” प्रसारण लाइन विस्तारका लागि आवश्यक स्थल र सामाजिक अवस्था बुझेर अगाडि बढ्नु चानचुने कुरा नभएको भन्दै अर्थमन्त्री महतले अब पाँच वर्षभित्र पूरा गर्ने बाटोमा अग्रसर बनेको बताए ।