काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ। निर्धारित समयमै निर्माण सम्पन्न गर्नका लागि कामदारले सिफ्ट अनुसार १८ देखि २१ घण्टासम्म काम गरिरहेका हुन्।
सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने गरी अहिले राति पनि काम भइरहेको छ।
आगामी पाँच महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तररुपमा गर्न सकिने बताइएको छ।
हाल निर्माणस्थलमा जगमा राखिने काम भइरहेको छ। अहिलेसम्म आठ पाइल सकिएको छ। एउटा साइडमा १२ र अर्कोमा १२ गरी जम्मा गरेर २४ पाइल चाहिनेमा अहिलेसम्म सात पाइलको काम सकिएको हो।
‘फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ।
अब पुल चढ्ने ‘र्याम्प वाल’ बनाउन बाँकी रहेको बताइएको छ। गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ।