काठमाडौं। जाजरकोटको नलगाड नगरपालिका– ७ दानीपीपलमा ४ सय केभीको सबस्टेसन निर्माण गर्न पहल सुरु गरिएको छ। नलगाड जलविद्युत आयोजना ४ सय १७, जगदुल्ला १ सय ६ मेगावाट र ताक्सुगाड जलविद्युत आयोजना ७ मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोड्नका लागि सबस्टेसन निर्माण गर्न पहल गरिएको हो।
जग्गा अधिग्रहण काम सम्पन्न भइसकेकाले भेरी करिडोरको १ सय ५० किलोमिटरको प्रसारणलाइन निर्माण तथा सबस्टेसन निर्माण गर्न चालु आर्थिक वर्षमा ठेक्का गरेर काम सुरु गर्ने बताइएको छ।
दानीपीपलबाट १ सय ३२ केभीको लाइनमार्फत सुर्खेतको मैनतडामा लिएर मुख्य लाइनमा जोड्ने काम हुने छ। भारतीय बैंकले भेरी करिडोरको प्रसारणलाइन निर्माणमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ। जसका लागि १४ अर्ब रकम आवश्यक पर्ने डिपिआरमा उल्लेख छ ।