ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारले बिजुलीको मिटरबक्स निःशुल्क पाउने भएका छन् । साँघुका पहिरो पीडित ६५ परिवारले मिटरबक्स निःशुल्क रूपमा पाउने भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिएका हुन्।
अध्यक्ष वनेमका अनुसार पहिरोपीडितका लागि राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरणले मिटरबक्स निःशुल्क उपलब्ध गराउने भएको हो । बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रत्यक्ष भेट गरेसँगै गाउँपालिकाको तर्फबाट मिटरबक्स निःशुल्क उपलब्ध गराउने मागअनुसार स्वीकृति प्राप्त भएको अध्यक्ष वनेमले जानकारी दिए।
पहिरोपीडित ६५ परिवारकै लागि नेपाल विद्युत प्राधिकरणले मिटरबक्स निःशुल्क उपलब्ध गराउने भएपछि अब विद्युत जडानको प्रक्रिया सुरु हुनेछ । गाउँपालिकाको अधिकांश वडामा यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगिसकेकाले पहिरोपीडित परिवारहरू बस्दैआएका अस्थायी आवास रहेको क्षेत्रमा विद्युत पुगाउन धेरै समय नलाग्ने बताइएको छ।