काठमाडौं। गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत गल्छीबाट मैलुङसम्मको सडक निर्माण कार्य हालसम्म ८० प्रतिशत मात्र पूरा भएको छ। सरकारले व्यापारिक मार्गका रुपमा विकास गर्न खोजेको यो सडकअन्तर्गत गल्छीबाट मैलुङसम्मको सडक निर्माण सुरु भएको आठ वर्षमा ८० प्रतिशत मात्र भौतिक प्रगति भएको हो।
सडक निर्माणका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्नु सडक निर्माणको ढिलाइका कारण बनिरहेको गल्छी–त्रिशुली–मैलुङ, स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । योजना कार्यालयका अनुसार स्थानीयले आफ्ना घरटहराको क्षतिपूर्ति बुझ्न मानिरहेका छैनन् ।
गल्छीबाट ४० किमीसम्म काम भइसकेको छ । अहिले ४० देखि ४६ खण्डमा अवरोध भएकाले काम अघि नबढेको बताइएको छ। शान्ति बजारमा र त्यसभन्दा अगाडि जग्गा उपलब्ध हुन नसकेकाले निर्माणले गति नपाएको योजनाले जनाएको छ ।
पहिलो खण्डमा सडकको दुई ठेक्का रहेको छ । जम्मा ११ पुल रहेकामा त्यसलाई एउटै प्याकेजमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । दश पुल बनिसकेको एउटा मात्रै बाँकी रहेको बताइएको छ ।
योजनाको गत आवमा ७५ प्रतिशत भौतिक प्रगति रहेको थियो । गत वर्ष १४ किमी सडक अस्फाल्ट भएको थियो भने आठ पुलको निर्माण सम्पन्न भएको थियो । गत वर्ष नै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा मुआब्जा निर्धारण र केही घरलाई वितरण गरिएको थियो ।
आयोजनाको हालसम्मको समष्टिगत प्रगति ५५ दशमलव ९८ प्रतिशत प्रगति रहेको छ । पुँजीजगततर्फ पाँच अर्ब ३३ करोड रुपैयाँ र मुआब्जातर्फ तीन अर्ब २९ करोड रुपैयाँ गरी जम्मा आठ अर्ब ६२ करोड रुपैयाँ खर्च भइसकेको छ । यसको पहिलो खण्डमा गल्छी–मैलुङ ४६ किमी, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी १९ किमी र स्याफ्रुबेँसी–रसुवागढी १७ किमी रहेको छ । त्रिदेशीय सडकका रुपमा वि.सं. २०७२ मा यो योजना निर्माण सुरु गरिएको थियो ।