काठमाडौं । २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड सञ्चालनमा आएको छ। निर्माण सम्पन्न भएको ८७ किलोमिटर लामो प्रसारण लाइन सोमबार राति ९.४० बजेबाट लोड दिएर चार्ज गरिएको हो ।
प्रसारण लाइनलाई २२० केभी कुस्मा सबस्टेसन र न्यू बुटवल सबस्टेसनसँग ‘सिन्क्रोनाइज’ गर्ने प्राविधिक कार्य सम्पन्न भएपछि रातिबाट लोड दिएर चार्ज गरिएको न्यू बुटवल सबस्टेसन आयोजनाले जनाएको छ।
प्रसारण लाइन सञ्चालनमा आएपछि न्यू बुटवल सबस्टेसन पनि २२० केभीमा सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि यो सबस्टेसनलाई १३२ केभीमा चार्ज गरिएपनि पूर्णरूपमा उपयोगमा आउन सकेको थिएन ।
प्रसारण लाइन र सबस्टेसन २२० केभीमा सञ्चालनमा आएसँगै कालीगण्डकी कोरिडोरका जलविद्युतगृहको खेर गइरहेको सय मेगावाट विद्युत प्रसारण प्रणालीमा ल्याइएको छ। यसअघि प्रसारण लाइनको समस्याले ४२ मेगावाटको मिस्ट्री खोलासहितका जलविद्युत आयोजनाहरू बर्खामा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अवस्था थियो ।