काठमाडौं। नेपाल विद्युत प्राधिकरणले यो आर्थिक वर्षभित्र भारतीय बजारमा १६ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्ने योजना बनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको साढे दुई महिनामा ८ अर्बको विद्युत भारतलाई बेचिसकेको बताउँदै एक वर्षभित्र १६ अर्बको विद्युत बेच्ने प्राधिकरणको योजना रहेको जानकारी दिएका हुन्।
उनले भने, ‘अहिले दैनिक ७ सय मेगावाट अर्थात १५ हजार मेगावाट घन्टा विद्युत भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गरिरहेका छौं। अहिलेसम्म ८ अर्ब रूपैयाँको विद्युत निर्यात भइसकेको छ। यो वर्षभित्र १६ अर्बको विद्युत भारतीय बजारमा निर्यात गर्ने प्राधिकरणको योजना छ।’
पछिल्लो समय भारतमा कोइला आपूर्तिमा देखिएको समस्या, बाढीका कारण जलविद्युत आयोजनामा भएको क्षति लगायत कारणले त्यहाँका थर्मल प्लान्टको उत्पादन लागत महंगो हुन जाने हुँदा यो वर्षा हिउँदको आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट आयात हुने विद्युत नेपालका लागि महंगो हुनसक्ने समेत उनले बताए ।
विद्युत जडित क्षमता २८ सय मेगावाट नाघिसकेपनि अहिलेको दैनिक २१ सय मेगावाट मात्र उत्पादन भइरहेको घिसिङले बताए ।