काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत महसुल तिर्न स्थानीय तहलाई अल्टिमेटम दिएको छ। स्थानीय तहहरूले सडक बत्तीका लागि उपयोग गरिरहेको विद्युतको महसुल उठ्न बाँकी रहेको भन्दै तत्काल सबै भुक्तानी गर्न प्राधिकरणले ४५ दिनको अल्टिमेटम दिएको हो।
स्थानीय तहहरूले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको सडक बत्तीको विद्युत महसुल अहिलेसम्म भुक्तानी नगरेको प्राधिकरणले जनाएको छ।
तोकिएको समयभित्र पनि स्थानीय तहले सडक बत्तीको विद्युत बक्यौता नतिरेमा विद्युत महसुल संकलन नियमावली, २०७८ को विनियम १० मा भएको व्यवस्था बमोजिम कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।
त्यसैगरी प्राधिकरणले अनुमति नलिई आफु खुशी विना मिटर सडक बत्ती जडान गर्ने कार्य कानूनमा भएको व्यवस्था विपरित भएकाले त्यस्तो भइरहेको अवस्थामा सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी तत्काल मिटर जडान गर्न समेत आग्रह गरेको छ । सूचित गर्दा गर्दै पनि मिटर जडान नगरी अनाधिकृत रूपमा सडक बत्ती बालेको पाइएमा हटाइने पनि प्राधिकरणले जनाएको छ ।