काठमाडौं। दशैंको यात्रा सहज बनाउनका लागि हाल भत्काइएको अवस्थामा रहेका दुई सडकखण्ड तत्काल मर्मत गर्ने भएको छ। चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले स्तरोन्नति र निर्माणका लागि भत्काइएका दुई व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गर्ने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत कार्य गर्नुपर्ने निर्णय गरेको छ।
बैठकले खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनलाई नारायणगढ–काठमाडौं सडकमा २६ असोजबाटै रोक्ने निर्णय समेत गरेको छ । यसअघि सरकारले यी सवारीलाई २८ असोजदेखि मात्र रोक्ने निर्णय लिएको थियो ।
तर, यात्रुबाहक सवारी साधनको सहजताका लागि मालबाहक ठूला सवारी साधन रोक्ने निर्णय भएको हो । यो निर्णय ८ कात्तिकसम्म लागु हुने भएको छ । रुट परमिट खुला हुने दिन समेत अब अगाडि सारिएको छ ।