झापा। कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ। शिवसताक्षी नगरपालिका-४ स्थित बुलोचोकमा निर्माणाधीन १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जाकाे काम ९० प्रतिशत पूरा भएको हो।
झापा इनर्जीले ४ वर्षअघि ७९ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण सुरु गरेको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम भइरहेको छ।
झिलभिले चोकबाट करिब ७ किलोमिटर उत्तरमा २२ बिघा जमिनमा २२ हजार ६ सय सोलार प्यानल जडान गरिने बताइएको छ।
यस परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र सिभिल बैंकले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको छ। उक्त परियोजनामा २० करोड रुपैयाँ शेयरदाताबाट लगानी गरिएको छ। जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताइएको छ।