कास्की। पोखरा महानगरका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक बत्ती बालिने भएको छ। सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका पाँच चोकमा ट्राफिक बत्ती जडान गरेको हो।
मुख्य चोकमा हाइमास्ट बत्ती र बजार क्षेत्रमा स्मार्ट बत्ती राखिएको महानगरमा झन्डै दुई दशकपछि ट्राफिक बत्ती बल्न लागेका हुन् ।
जडानको काम करिब सकिएको र मङ्सिरभित्रै ट्राफिक बत्ती बल्ने बताइएको छ । विभागले पृथ्वी चोक, सभागृह चोक, सिर्जना चोक, जिरो किमी र बिरौटा चोकमा बत्ती राखेको छ । विभागले एक करोड ७३ लाख रुपियाँ लागतमा बत्ती राखेको हो ।
पोखरा महानगरले आफ्नै लगानीमा थप पाँच स्थानमा ट्राफिक बत्ती राख्दै छ । महानगरको सडक सुरक्षा शाखाले राष्ट्रबैङ्क चोक, रत्न चोक, हेम्जाको मिलन चोक, चिप्लेढुङ्गा र हल्लन चोकमा महानगरले बत्ती राख्न लागेको जनाएको छ।