काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का खारेज गरिएको छ। लागतभन्दा बढी मूल्यमा वित्तीय प्रस्ताव परेपछि मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले प्रसारणलाइन निर्माणसम्बन्धी बोलपत्र रद्द गरेको हो।
एमसीए नेपालले शुक्रवार एक सूचना गरी यी ठेक्काहरुमा बोलपत्र पहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्याधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरेको जानकारी दिएको छ।
एमसिए नेपालले यससम्बन्धी मागेको सुझावमा एमसिसीले बुधबार मात्रै उक्त टेन्डर रद्द गरेर नयाँ टेन्डर आह्वान गर्न एमसिए नेपाललाई भनेको हो ।
सो टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द गर्ने प्रस्ताव एमसीए नेपालले गरेको थियो । यो प्रस्तावलाई एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले जनाएको छ।
यसअन्तर्गत कुल तीन सय १५ किलोमिटर लामा चार प्रसारण लाइन बन्दै छन् । एमसिए नेपालले त्यसको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरेको छ । तर, टेन्डरमा त्यसको न्यूनतम वित्तीय प्रस्ताव भने लागत अनुमानको तुलनामा ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । यो अनुमानित लागतभन्दा १४ करोड ५३ लाख डलर बढी हो ।