काठमाडौं। राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मतका काम सुरु गरिएको छ। सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको हो।
मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको बताइएको छ। साउनबाट नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको समेत विभागले जनाएको छ।
विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्को वर्षा सुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ ।
राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन । सोहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको बताइएको छ ।
सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम सुरु भए पनि भने जस्तो प्रगति भइनसकेको पनि बताइएको छ।