काठमाडौं। लामाबगरलाई हब बनाएर सबस्टेशन र प्रसारण लाइन निर्माण गरिने भएको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लो तटमा निर्माण हुने विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि प्रसारण लाइन निर्माणका विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल भएको हो।
छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा स्थापित गरेको सार्थक उदाहरणलाई मध्यनजर गरेर थप प्रक्रिया अगाडि बढाउन सम्बद्ध निकायलाई आग्रह गरे । लाप्चे र जुम खोलमा पहिचान भएका आयोजनाका प्रवद्र्धकले छिट्टै परियोजना निर्माण सुरु गर्ने तयारी गरेका छन् ।
कुल एक सय ६० मेगावाट क्षमताको लाप्चे खोलामा दुगड समूहले लगानी गर्ने भएको छ । यस्तै अन्य आयोजना पनि छिट्टै निर्माणमा जाने भएकाले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउन मन्त्री बस्नेतले आग्रह गरे ।
छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंह, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमलगायतको सहभागिता थियो ।
माथिल्लो तामाकोशीको आयोजनास्थल लामाबगरभन्दा माथिल्लो तटमा लाप्चे खोला, जुम खोला, अप्परलाप्चे र तामाकोशी लाप्चेलगायतका आयोजना पहिचान गरिएको छ । ती आयोजनामध्ये केही निर्माण सुरु हुने तयारीमा छन् भने केही आयोजना अध्ययनका क्रममा छन् ।