काठमाडौं। भोजपुरको कावा खोलामा निर्माणकै क्रममा पुल ढलेको छ। ५ करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल शनिबार ढलेको हो।
हतुवागढी गाउँपालिका–२ रानीवास र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण सुरु गरिएको थियो।
पुल ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १.२० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो। पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले जानकारी दिए।
भोजपुरलाई उत्तर–दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण शुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो तर पुल निर्माणकै क्रममा ढलेपछि स्थानीय निराश बनेका छन्।
यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारकोतयारी सुरु गरिएको थियो। पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेमा स्थानीय आशावादी थिए। तर पुल निर्माण भएर खुसि साट्न नपाउँदै पुल भत्किएपछि आफुहरु निरास भएको बताए। यो भोजपुरलाई तराई जिल्लासँग जोड्ने सबैभन्दा छोटो सडक पनि हो।
पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुईओटा गरी १० ओटा पुल निर्माण भइरहेको छ। कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन्।
पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ।