काठमाडौं। २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा लगानीको टुंगो लागेको छ। सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा तीन बैंकले लगानी गर्ने भएका छन्।
आयोजनामा कृषि विकास र माछापुछ्रे बैंकले पनि लगानी गर्ने भएका हुन्। लगानी सम्बन्धमा सोमबार हस्ताक्षर भएको छ। आयोजनाको प्रवर्द्धक देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियमरपूर्वाधार बैंकिङ एकाइ प्रमुख रोशन मल्लले लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता आदानप्रदानका क्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमितबाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाति लगायत उपस्थित थिए।
आयोजनामा ३ अर्ब ९४ करोड रुपैयाँ खर्च हुने अनुमान छ। जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतामा उल्लेख छ। आयोजना म्याग्दीको राघुगंगा गाउँपालिका-७ र ८ मा निर्माणधीन छ।
अयोजनाको ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको अध्यक्ष पन्तले बताए। उनले २०८२ असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए पनि त्यसअगावै काम पूरा गरी राष्ट्रिय प्रशारणलाइनमा जोड्ने लक्ष्य रहेको बताए।
ठूलो खोला हाइड्रोपावरले आईपीओ जारी गर्न सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बिजमाण्डूबाट