मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का २७ घरधुरीलाई एक एक सेट सोलार वितरण गरिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजित चार लाख रकमबाट सोलार खरिद गरेर बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो।
वडा नं.७ को घिराङ, तामराङ, आइवेनी क्षेत्रका २७ घरधुरीलाई एक एक सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।
दशैंको बेलामा घरमा सोलार जोड्ने भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ।
चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङको वडा नं.७ र ९मा अझै बिजुली बत्ती पुगेको छैन। चितवनको राप्ती नगरपालिकासँग जोडिएको घिराङ र लामराङ विकट क्षेत्र पर्दछ र सोहीअनुरुप पालिकाले सोलार वितरण गरिएको अध्यक्ष मल्लले बताए।
उपभोक्ताको दुई हजार र पालिकाको १४ हजार गरी १६ हजार मूल्य लागतमा सोलार सेट प्रदान गरिएको हो । पाँच वटा बत्ती, मोबाइल चार्जिङ र रेडियो बज्न सक्ने क्षमताको सोलार सेट प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । सोलार उपभोक्ताको घरमा पालिकाले नै फिटिङ गरिदिएको छ।