काठमाडौं। सडक विभागले सडक सञ्चालनलाई नै अवरोध हुनेगरी भइरहेका मुख्य राजमार्गका मर्मतको काम तत्कालका लागि रोकेको छ । चाडपर्वका समयमा मर्मत कार्यले गर्दा सवारी आवागमनमा समस्या नहोस भनि तत्कालका लागि मर्मत कार्य रोकेको हो।
तर कुनै ठाउँमा खाल्डाखुल्डी भएकै कारण सवारी सञ्चालनमा समस्या भए द्रुतगतिमा टाल्ने र सञ्चालन सुचारू राख्ने काम भने भइरहेको बताइएको छ।
सडक विभागले सवारी चल्नै नसक्ने अवस्था भए तत्काल सञ्चालनमा ल्याउन मेसिन र क्रेन तयारी अवस्थामा राखेको छ । यो वर्ष मनसुन लामो समयसम्म रहेकाले पहिरो जाने वा आकस्मिक रुपमा अवरोध आउने स्थानको पहिचान गरी त्यस्ता ठाउँमा आवश्यक मेसिन तैनाथ गरिएको छ । गाडी बिग्रिए तत्काल हटाउन नाकाहरूमा क्रेन पनि राखेको छ ।
देशभरका सडक डिभिजन कार्यालयलाई पनि आवश्यक जनशक्ति र उपकरणसहित तयारी अवस्थामा रहन विभागको निर्देशन छ ।