तनहुँ। भिमाद नगरपालिका र पारी शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोलामा पुल निर्माण भएको छ। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको बजेटमा शुक्लागण्डकी नगरपालिका–११ र भीमाद नगरपालिका–९ जोड्न बरखोलामा पुल निर्माण भएको हो।
तीन करोड ९८ लाख ६३ हजार दुई सय ७७ को लागतमा पुल मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर कम्पनीले निर्माण गरेको छ। विसं २०७७ कात्तिक २६ गते शिलान्यास भइ निर्माणगरिएको पुल ३२ दशमलव चार मिटर लामो छ । विसं २०७८ असार २२ गतेसम्म पुल निर्माण गरिनुपर्नेमा विविध कारणले एक वर्ष ढिला हुन पुगेको बताइएको छ। खोलाले वर्षामा अत्याधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न दायाँ बायाँ एक हजार तीन सय घनमिटरको ग्याबिन भरिएको छ ।
पक्की पुलले शुक्लागण्डकी र भिमाद मात्र नभई स्याङ्जाका केही भागका सर्वसाधारण पनि लाभान्वित हुन्छन्।
पक्की पुल निर्माणसँगै जीवनस्तर सहज हुनेमा स्थानीयवासी बताउँछन्। पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भएकोमा स्थानीय खुसी समेत छन्।