काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगरे ठूलो विपत् आउन सक्ने बताएका छन्।
बिहीबार सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा भइरहेको तार तान्ने कामको अनुगमन गर्न पुगेका घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो भने ठुलो विपत् आउन सक्ने बताएका हुन् ।
उनले भने, “प्रसारण लाइन निर्माणमा ठाउँ ठाउँमा अवरोध छ, अहिले पाँच टोलीले तार तान्ने काम गरिरहेको छ, थप टोली थपेर कामलाई तीव्रता दिन स्थानीयको अवरोधले समस्या छ। खुलाउनका लागि भइरहेका प्रयास असफल बनिरहेका छन्, स्थानीय निकाय, प्रशासनलगायत सबैले सकारात्मक सहयोग गरेर प्रसारण लाइन निर्माण नगरे समग्र आपूर्ति प्रणाली खलबलिने र निर्यातमा समेत समस्या हुने छ ।”
यो लाइन बनाउन नसके पूर्व क्षेत्रको विद्युत् माग धान्न थप आपूर्ति कठिन हुने र बचेको विद्युत् निर्यातमा पनि असहजता हुने उनको भनाइ छ ।
स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन ।