मुस्ताङ। उपल्लो मुस्ताङमा ३३ केभी क्षमताका दुई वटा सबस्टेसन निर्माण गरिने भएको छ। लोघेकर दामोदरकुण्ड—१ चराङ र बारागुङमा र मुक्तिक्षेत्र—३ चैलेमा नेपाल विद्युत् प्राधिकरणले ३३ केभी क्षमताका सबस्टेसन निर्माण गर्ने भएको हो।
मुस्ताङमा देखिएको विद्युतीय समस्या निराकरण गर्न र कोरला नाकासम्म विद्युतीय सेवा पुर्याउन प्राधिकरणले दुई सबस्टेसन निर्माण गर्न लागेको हो।
प्रसारण लाइनको सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का आह्वान गरिसकेको छ।
मुस्ताङमा राख्न लागिएको दुई सबस्टेसनका लागि कात्तिक २ गते ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्काको अन्तिम मंसिर १८ गते हुनेछ। लागत र सबस्टेसन निर्माण गर्ने कम्पनीको कार्यदक्षता मूल्यांकन गरी नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गर्ने तयारी भइरहेको बताइएको छ।