काठमाडौं। कास्कीको बेगनासताल–आनन्दज्योती मावि मजथान सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँग स्पष्टिकरण सोधिएको छ। पूर्वाधार विकास कार्यालय कास्कीले एक सूचना जारी गर्दै निर्माण कम्पनीलाई ‘ठेक्का किन नतोड्ने?’ भनि प्रश्न गरेको हो।
कार्यालय र निर्माण कम्पनी लामा विल्डर्सबीच सम्झौता भइ काम सुरु भएपनि काम अघि बढ्न नसकेपछि कार्यालयले निर्माण व्यवसायीलाई पटक पटक पत्र पठाएको थियो। कार्यालयले सार्वजनिक सूचना मार्फत समेत काम सुचारु गर्न अनुरोध गरेकोमा निर्माण कम्पनीले काम पनि सुचारु नगरेको र सम्पर्कमा पनि नआएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ।
कार्यालयले यो सूचना जारी भएको ७ दिनभित्र निर्माण कम्पनीका आधिकारीक व्यक्ति स्वयम कार्यालयमा उपस्थित भएर स्पष्टिकरण पेश नगरे ठेक्का तोडेर आवश्यक कारबाही सुरु गर्ने चेतावनी समेत दिएको छ।