काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच भेटवार्ता भएको छ। अर्थमन्त्री महत र ट्रेजरी लर्डस्मन्त्री पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको हो।
भेटका क्रममा अर्थमन्त्री डा.महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरे। उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको भन्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउन समेत आग्रह गरे ।
त्यसैगरी उनले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गरेको अर्थमन्त्री डा.महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । उनले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए ।