हुम्ला। हुम्ला सदरमुकाम सिमकोटमा विद्युत् वितरण बन्द गरिएको छ । जलविद्युत आयोजना मर्मतका लागि विद्युत् वितरण बन्द गरिएको हो।
राष्ट्रिय प्रसारणमा नजोडिएको हुम्लामा ५०० किलोवाटको हिल्दुम जलविद्युत आयोजनाद्वारा उत्पादित बिजुलीको भर छ । आयोजना मर्मत गर्न २ साताका लागि विद्युत् सेवा बन्द गरिएको हिल्दुम वितरण केन्द्र सिमकोटले जनाएको छ।
आयोजना बन्दले सिमकोटसहितका दुई गाउँपालिकाका बासिन्दाले बिजुली प्रयोगका लागि पर्खिनुपर्ने भएको छ ।
कात्तिक ९ देखि २२ गतेसम्म पुनःनिर्माण कार्यका लागि आयोजना बन्द गरिएको बताइएको छ ।
विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा राति अन्धकार भएको छ । दसैं बिदा सकिए लगत्तै सिमकोटका कार्यालयहरु खुले पनि बिजुली नहुँदा सेवा प्रभावित भएको छ ।