काठमाडौं। नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुई वटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन गरिएको छ। नेपाल–जर्मनी आर्थिक सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएका दुई वटा सबस्टेसन उद्घाटन गरिएको हो।
जर्मन सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बंगलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्त रुपमा रातामाटे सबस्टेसन उद्घाटन गरेका छन्। यसैगरी, घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्त रुपमा कालिकास्थान सबस्टेसनको उद्घाटन गरेका छन्।