कास्की। पोखरा मुग्लिन सडक खण्ड अन्तर्गत पूर्वतर्फ कालोपत्रेको काम सुरु भएको छ । किलोमिटर सडक तिहार अघि नै कालोपत्रे सम्पन्न गर्ने योजना अनुसार आइतबारदेखि सडक कालोपत्रे गर्न सुरु गरिएको हो।
पहिलो चरणमा डुम्रेदेखि छिर्कने भन्ज्याङसम्म कालोपत्रे गर्न लागिएको छ। तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजनाले जनाएकाे छ।
आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८२ किलोमिटर सडक खण्डलाई २ वटा ठेक्का लगाएर स्तरोन्नति गर्न लागिएको छ। पूर्वी खण्ड आँवुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म छ ।
तिहार लगत्तै डुम्रेको नालापुलदेखि छिर्कनसम्मको सडक पिच गरेर आँबुखैरेनी क्षेत्रमा जाने बताइएको छ। हाल ४ मध्ये २ लेनमा पिच गर्ने काम भइरहेको छ । पूर्वी खण्ड ४१.४५ किलोमिटर छ । २०८१ वैशाखसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएकोमा तोकिएको म्यादभित्र काम सम्पन्न हुने सम्भावना निकै कम छ । २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । यसको लागत ६ अर्ब २१ करोड ३१ लाख छ ।
एसियाली विकास वैंकको २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । पश्चिम खण्डको काम भने निकै सुस्त छ ।