म्याग्दी। नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेशमा विद्युत आपूर्तिको गुणस्तर सुधार गर्न तथा धौलागिरि क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउने बताएको छ। प्राधिकरणले ३७ किलोमिटर लामो १३२ केभी कुस्मा–तल्लोमोदी–नयाँमोदी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
गण्डकी प्रदेशको विद्युत प्रसारण लाइनको चक्र बनाउने गरी यो प्रसारण लाइन निर्माणका लागि पूर्व तयारीका कामहरू भइरहेको आयोजनाले जनाएको छ। यो गण्डकी प्रदेशको विद्युत प्रसारणका लागि वैकल्पिक लाइन हुनेछ ।
कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी दाना–कुस्मा– न्यू बुटवल प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेको छ । कालीगण्डकी कोरिडोर र वरपरका नदी वेसिनका आयोजनाको विद्युत यो लाइनबाट सोझै न्यू बुटवल सबस्टेसन हुँदै चितवनको भरतपुरसम्म पुगिरहेको छ।
कुस्मादेखि मोदीसम्म ६.२ किलोमिटर प्रसारण लाइनको ‘सिङ्गल सर्किट’लाई ‘डबल सर्किट’ को बनाउने तथा तल्लो मोदीदेखि नयाँ मोदी ९ किलोमिटर लामो डबल सर्किट नयाँ प्रसारण लाइन बनाइने बताइएको छ।
तल्लो मोदीदेखि नयाँ मोदी जोड्ने प्रसारण लाइनका लागि ३७ वटा टावर रहने जग्गाको मुआब्जा वितरणको तयारी गरिएको छ। कुस्मा– तल्लोमोदी–नयाँ मोदी प्रसारण लाइन निर्माणका लागि कस्मिक इलेक्ट्रिकल लिमिटेडसँग ३५ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। सम्झौता अनुसार अबको २१ महिनामा प्रसारण लाइन निर्माण पूरा गर्नु पर्नेछ ।