ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा तमोर नदीमाथि अस्थायी काठको पुल निर्माण गरिएको छ। गाउँपालिकाको वडा ४ इखाबु र वडा ५ तापे थोक जोड्ने गरी तमोर नदीमा मोटर गुड्ने अस्थायी काठे पुल निर्माण गरिएको हो।
काठको अस्थायी मोटर गुड्ने पुल निर्माण सम्पन्न गरेर आइतबारदेखि यातायात सञ्चालनमा ल्याएको छ। काठे पुल निर्माणपछि यातायात सञ्चालनमा आएसँगै तापे थोक र इखाबुको संसाबु, बिपुधापलगायत टोलका बासिन्दालाई सुविधा पुगेको छ।
सडकको पहुँच पुगे पनि तमोरमा पक्की मोटरेवल पुल नहुँदा यातायात सञ्चालन नियमित नहुने यस गाउँपालिकामा स्थानीयलाई यातायात सुविधा दिनका लागि गाउँपालिकाले अस्थायी काठको पुल निर्माण गरेको हो ।
जिल्लाकै दुर्गम तथा विकट भौगोलिक बनावट रहेको यस भेगमा अझै छिरुवा लगायतका स्थानहरूमा काठको अस्थायी पुल निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । तमोर नदीमा काठे पुल निर्माण गरेपछि ढुवानी तथा यात्रुवाहक सवारी साधन र एम्बुलेन्स सञ्चालनमा सहज हुने बताइएको छ ।