चितवन। चितवनको खैरहनी नगरपालिकामा शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालिएको छ। नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउनका लागि पालिकाले ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो।
खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपाङ्गमैत्री बनाउन लागेको नगरपालिकाले जनाएको छ।
ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपाङ्गमैत्री बनाउन लागेको बताइएको छ।
नगरपालिकाको क्षेत्राधिकार पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।