काठमाडौं। नेशनल हाइड्रोपावर लिमिटेडको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको नाफा करिब ४६ लाख भएको छ। कम्पनीले पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै ४५ लाख ९१ हजार नाफा भएको जानकारी दिएको हो।
कम्पनीको यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३२ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६८ लाख १८ हजार नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी सामान्य बढेपनि खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा २ दशलमव ६२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत ६ करोड ३६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर ६ करोड ५२ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड रहेको छ भने चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा १ करोड ७७ लाख र शेयर प्रिमियममा १ करोड ६३ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४७ पैसा, र प्रतिशेयर नेटवर्थ १ सय १ रुपैयाँ ३२ पैसा रहेको छ ।