सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सात महिना भित्र टुङ्ग्याइने भएको छ। विश्व बैंकको टोलीले आयोजनास्थल अनुगमन गरेपछि आयोजनाको वित्तीय व्यवस्थापन सात महिनाभित्रै टुङ्गो लगाउने तयारी भएको हो।
तर आयोजनास्थलसम्म पुग्न बनाइने सडकका लागि निर्माण कम्पनी चयन भए पनि वन मन्त्रालयले रुख काट्न अनुमति नदिँदा काम अघि बढ्न सकेको छैन ।
सन् २०११ मै १ हजार ६१ मेगावाट क्षमताको आयोजना बनाउन सकिने निष्कर्ष निकालिएको भए पनि माथिल्लो अरुण जलविद्युत आयोजनाको काम अहिलेसम्म सुरु हुन सकेको थिएन । अबचाहिँ डिजाइन तथा निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता छनोटको काम अन्तिम चरणमा पुगेको छ ।
५० करोड डलर लगानी गर्न तयार भएको विश्व बैंकका उच्च पदाधिकारीले हालै आयोजनास्थल भ्रमण गरेर लगानीको छिट्टै टुङ्गो लगाउने बताएका छन्। विश्व बैंकले आउँदो जुलाईसम्ममा लगानीको टुङ्गो लगाउने बताएको अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले जनाएको छ।
आयोजनालाई आवश्यक पर्ने २ हजार २५ हेक्टर निजी जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण पनि ९९ प्रतिशत सकिइसकेको छ । १ अर्ब ७५ करोड अमेरिकी डलर अर्थात् २ खर्ब १४ अर्ब अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत आन्तरिक पुँजी जुटाइने योजना छ ।