पोखरा। पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले गति लिएको छ । भदौसम्ममा ५ प्रतिशत मात्रै भौतिक प्रगति रहेकोमा अहिले निर्माणले गति लिएको हो ।
बैशाखदेखि पूर्वाधार निर्माण थालिएकामा हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । पोखरा महानगरपालिका–१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नं १५, १६ र १७ मा पाइप विछ्याउने काम भइसकेको आयोजनाले बताएको छ।
दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि बल्ल आयोजनाको काम सुरु भएको थियो । इञ्जिनीयरिङ डिजाइन, उपकरण खरिदलगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको जनाइएको छ।
पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ ।