सिन्धुपाल्चोक। निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको सम्पूर्ण भौतिक र इलेक्ट्रोमेकानिकलको काम अन्तिम चरणमा पुगेको हो।
आगामी पुस मसान्तभित्र परीक्षण उत्पादन सुरु गर्ने मध्येभोटेकोशी जलविद्युत् कम्पनीले जनाएको छ। हाल स्थानीय चाकुमा बाँध र बसेरीमा विद्युत्गृह निर्माण गरिएको आयोजनाको सुरुङको भित्री भागको ‘ग्राउटिङ’, ‘ट्रायल एन्ड इरर’ तथा ‘हाई एन्ड लो भोल्टेज टेस्टिङ’ भइरहेको छ । सुरुङमा एक महिनाभित्रै पानी पठाएर थप परीक्षण गरिने आयोजनाले जनाएको छ । भोटेकोशी गाउँपालिका–५ को चाकुमा बाँध बनाएर ७ किमि लम्बाइको सुरुङबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्माण गरिएको विद्युत्गृहमा पानी पठाएर विद्युत् उत्पादन गरिनेछ ।
आयोजनाबाट उत्पादिन बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि आयोजनाले पहिलो वर्ष नै २ अर्ब ९० करोड आम्दानी गर्ने बताइएको छ ।
०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको कम्पनीले आयोजना सन् २०१३ मा निर्माण सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेको थियो । आयोजनाको आन्तरिक असमझदारी, स्थानीय राजनीतिक द्वन्द्व, बाढीपहिरो, भूकम्प, कोरोनालगायत समस्याका कारण निर्माणमा ढिलाइ भएको हो ।
सुरुको एस्टिमेटअनुसार आयोजनाको कुल लागत १२ अर्ब २८ करोड थियो । तर अहिले लागत बढेर १९ देखि २० अर्ब पुग्ने कम्पनीले जनाएको छ।