संखुवासभा। संखुवासभाका स्थानीयले आन्दोलन फिर्ता लिएपछि अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग खुलेको छ। खाँदबारी नगरपालिका–४ र चिचिला गाउँपालिका–२ का स्थानीयले ४५४ रोपनी जग्गाको मुआब्जा माग गर्दै भदौ १६ देखि थालेको आन्दोलन फिर्ता लिएसँगै बिहीबारदेखि आयोजनाको प्रवेश मार्ग खुलेको हो।
९०० मेगावटको यस आयोजनाको प्रवेश मार्ग ७० दिनपछि खुलेको आयोजनाले जनाएको छ।
सरकारले छुट मुआब्जाबापतको रकम जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिदिने भएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन्। मुआब्जा पीडित संघर्ष समितिले बन्दसहितको आन्दोलन फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएको छ।
समितिले आन्दोलन फिर्ता लिएसँगै आयोजनाको काम अगाडि बढेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। मन्त्रिपरिषद्को कात्तिक १६ गतेको बैठकले लगानी बोर्डको सिफारिसमा छुट मुआब्जावापतको ५३ करोड रुपैयाँ आयोजना निर्माण गरिरहेको कम्पनी सतलज जलविद्युत् निगममार्फत जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गर्ने निर्णय गरेको थियो।